काठमाडौंमा जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता सुरु, युवालाई खेलकुदसँग जोड्न मन्त्री पौडेलको जोड

काठमाडौं, असार २ –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युवालाई स्वास्थ्य बनाउन खेलकुदसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं महानगरपालिका–२६ द्वारा आयोजना गरिएको ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता–२०८२’ को आइतबारको उद्घाटन समारोहमा मन्त्री पौडेलले खेलकुदले शारीरिक तन्दुरुस्तीका साथै अनुशासन र राष्ट्रको पहिचान बनाउन मद्दत गर्ने बताए । उनले सबै तहका सरकार तथा संस्थालाई खेलकुद क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उपप्रमुख सुनिता डंगोलले प्रतिस्पर्धासँगै आत्मीयता र सहकार्य प्रवर्द्धन गर्न खेलकुदले भूमिका खेल्ने बताइन । वडा अध्यक्ष ख्यामराज तिवारीले फुटसल, टेबुल टेनिस, बास्केटबल कोर्टजस्ता पूर्वाधार विकासका कारण वडाले खेललाई प्राथमिकतामा राखेको र चालु आर्थिक वर्षमा रु ३५ लाख बजेट छुट्याएको जानकारी दिए ।
प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठका अनुसार आठ दिनसम्म चल्ने प्रतियोगितामा काठमाडौं महानगरका ३२ वटै वडा र अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगितामा फुटसल, टेबुल टेनिस, तेक्वान्दो, डब्लुकेएफ कराते र आइकेयू कराते विधाहरूमा प्रतिस्पर्धा हुनेछ। विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजक वडाले जनाएको छ।