सानो पाइला सहकारी प्रकरणमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

वीरगन्ज,असार २ । रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी अभियोगमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
पर्सा जिल्ला अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जेठ ३० गते अदालतमा मुद्दा दायर गरेको हो। सो सहकारी संस्थाबाट १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै अभियोगपत्र दर्ता गरिएको छ।
अभियोगपत्रमा रवि लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ र छविलाल जोशीविरुद्ध ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख १४ गते अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। प्रतिवेदनमा प्रहरीको निष्कर्षअनुसार सानो पाइला सहकारी संस्थाबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ २९ पैसाको अपचलन पुष्टि गरिएको थियो।
अनुसन्धानका क्रममा सहकारीको रकम गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३९५ रुपैयाँ, र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको फेला परेको थियो।
वीरगञ्जको सानो पाइला सहकारी संस्थामा बचत गरेका ४३८ जना बचतकर्ताले रकम अपचलन भएको भन्दै जाहेरी दिएका थिए। २०८० साउन २१ गते ५२ जना, भदौ २२ गते २०७ जना, र २०८१ फागुन २ गते १७९ जना बचतकर्ताले पर्सा प्रहरीमा जाहेरी दर्ता गराएका थिए।
सुरुमा प्रहरीको अनुसन्धान सहकारी ठगीमा केन्द्रित रहे पनि संसदीय छानबिन समितिले शुद्धिकरण र संगठित अपराधसमेत अनुसन्धानको दायरामा ल्याउन सुझाव दिएपछि ती तीनवटै आरोपमा अनुसन्धान गरिएको थियो।
रवि लामिछानेलाई पर्सा प्रहरीले मंसिर २४ गते पोखराबाट पक्राउ गरेर भोलिपल्ट मंसिर २५ गते पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो। बयानपछि उनलाई काठमाडौं पठाइएको थियो।
हाल रवि लामिछाने बुटवलको सुप्रिम सहकारी अपचलन प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।