शिवपुरी डोजो गोजुकाई टिम ६ स्वर्ण सहितको विजेता



नुवाकोट,असार २ — जिल्ला विकास समितिको त्रिशूलीस्थित कभर्डहलमा शनिबार सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण पदक सहित ‘टिम फस्ट’ बन्न सफल भएको छ।

टोलीबाट सहभागी अनुरति कार्कीले ४५ केजी छात्रा तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन्। उनले फाइनल खेलमा आत्मविश्वासका साथ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

सुप्रिया तामाङ (३० केजी छात्रा), डेनियल तामाङ (३० केजी छात्र), सञ्जीव तामाङ (५० केजी छात्र), सिवास रानामगर (६० केजी छात्र) र सुरेश तामाङ (ओपन केटेगोरी छात्र) ले पनि आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जित्दै टोलीलाई अग्रस्थानमा पुर्‍याए।

त्यस्तै, केली श्रेष्ठले ३५ केजी छात्रा समूहमा र विजय तामाङले ५५ केजी छात्र समूहमा तेस्रो स्थान हासिल गरे। टोलीको नेतृत्व प्रशिक्षक सञ्जय तामाङले गरेका थिए। उनले खेलाडीहरूको अनुशासन, निरन्तर अभ्यास र समर्पण नै सफलताको मूल मन्त्र भएको बताए।

प्रतियोगितामा शिवपुरी डोजोको समग्र प्रदर्शनको सबैले प्रशंसा गरेका छन्। अभिभावक, प्रशिक्षक र समर्थकहरूले खेलाडीहरूको मेहनत र सफलतालाई गर्वको विषय भनेका छन्। आयोजक समितिले पनि डोजोको समर्पण र खेल स्तरको खुलेर प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

प्रतिक्रिया दिनुहोस्