बेलकोटगढी–४ मा जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न, गृहिणीहरू आत्मनिर्भरतातर्फ उन्मुख



बेलकोटगढी,असार २ । बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं. ४ मा सञ्चालन गरिएको जुत्ता–चप्पल बनाउने तालिम समापन भएको छ।

समापन कार्यक्रमका अवसरमा सहभागी महिलाहरूले आफैंले तयार पारेका जुत्ता र चप्पलहरू प्रदर्शनीमा राखेका थिए, जसले तालिमबाट उनीहरूले प्राप्त गरेको सीप र दक्षता स्पष्ट रूपमा देखाएको थियो।

यस तालिममा २७ जना महिलाहरूले सहभागीता जनाएका थिए। तालिम एडभान्स स्तरको रहेको र यसको उद्देश्य महिलाहरूलाई सिपमूलक सीपमार्फत आत्मनिर्भर बनाउनु रहेको शाखाले जनाएको छ।

कार्यक्रममा बोल्दै वडा नं. ३ की अध्यक्ष कौशिला पुडासैनीले भनिन्,”यस्ता तालिमहरूले महिलाहरूलाई आफ्नो खुट्टामा उभिन सहयोग गरेका छन्। उत्पादनको गुणस्तर राम्रो भएकाले बजारमै माग बढ्दै गएको छ।”

नगरपालिकाले आगामी पाँच वर्षसम्म सिप र व्यवसाय परामर्शमा निरन्तरता दिने योजना बनाएको छ। यसअघि नगरभित्र झोला बनाउने, अचार बनाउने, धूप तथा गुडिया बनाउने तालिमहरू सम्पन्न भइसकेका छन्।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले आफूले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्दै जान प्रतिबद्धता जनाएका थिए। तालिमले स्थानीय महिलाहरूको आय–आर्जनमा सहयोग पुर्‍याउँदै आत्मनिर्भरता तर्फको बाटो खोल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्