लिखुमा आधारभूत तहका शिक्षकका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



नुवाकोट,असार २। लिखु गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा आयोजित पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

आधारभूत तह (कक्षा १ देखि ५) का शिक्षकहरूलाई लक्षित गर्दै एकीकृत पाठ्यक्रम (कक्षा १–३) मा आधारित उक्त तालिम लिखु–४, चौघडामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयमा जेठ २९ गतेदेखि असार २ गतेसम्म सञ्चालन गरिएको थियो।

तालिममा सहभागी शिक्षकहरूले एकीकृत पाठ्यक्रमको संरचना, कार्यान्वयन रणनीति, समावेशी शिक्षण विधि, मूल्याङ्कन प्रणाली लगायतका महत्वपूर्ण विषयमा प्रशिक्षण लिएका थिए। तालिमको उद्देश्य शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै सिकाइलाई अझ बालमैत्री, समावेशी र प्रभावकारी बनाउनु रहेको आयोजक संस्था शिक्षा तालिम केन्द्र धुलिखेलले जनाएको छ।

स्थानीय तहको सक्रिय समन्वय र प्रदेश सरकारको सहकार्यमा सञ्चालित यस्तो तालिमले शिक्षकहरूको पेशागत विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। समापन कार्यक्रममा सहभागी शिक्षकहरूले तालिम उपयोगी र व्यवहारिक भएको अनुभव बाँडेका थिए।

प्रतिक्रिया दिनुहोस्