‘बाहुबली झरना’ को रूपमा चर्चित रसुवाको भाङ्गे झरना पुनः सक्रिय

रसुवा,असार २ — उत्तरगया गाउँपालिका–२ मा पर्ने भाङ्गे झरनाले यस वर्ष पनि आफ्नो आकर्षक स्वरूप लिएको छ। नेपाल–चीन अन्तर्राष्ट्रिय सडक खण्ड बेत्रावती–मैलुङ–स्याफ्रुबेशी मार्गमा पर्ने यो झरना सडकको मैलुङ नजिकै पर्छ, जसले गर्दा सडक यात्रामै रमाइलो दृश्यावलोकन गर्ने अवसर मिल्दछ।
वर्षा सुरु भएसँगै बनेको यो मौसमी झरना अहिले फुल फ्लोमा बगिरहेको छ। वर्षायाममा मात्र सक्रिय हुने भएकाले यो झरनाले पर्यटकमा छुट्टै आकर्षण सृजना गर्छ। झरनाको विशाल र शक्तिशाली बहावका कारण हालसालै यसलाई “बाहुबली झरना” भनेर समेत चिनिन थालिएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण भाङ्गे झरनामा हरेक वर्ष वर्षायाम सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। गर्मी छल्न र मनमोहक दृश्य अवलोकन गर्न नुवाकोट, काठमाडौंलगायतका ठाउँबाट दैनिक एकदेखि दुई हजारसम्म पर्यटक आउने गरेको स्थानीयहरू बताउँछन्।
रसुवा जिल्लामा रहेका धेरै मनोरम झरनामध्ये भाङ्गे झरना सबैभन्दा लोकप्रिय मध्ये एक मानिन्छ। सडकको नजिकै भएकाले सजिलै पुग्न सकिने यो स्थानले पर्यटकको चाप बढाउँदै लगेको छ।