नेपाल पुलिस स्कुल सामाखुसीमा प्रहरी नायव महानिरीक्षक रानाद्वारा निरीक्षण तथा निर्देशन

काठमाडौं,असार ३ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सोमबार नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डीआईजी रानाले विद्यालय परिसरका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलको शैक्षिक अवस्था र समग्र व्यवस्थाबारे जानकारी लिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकलाई सबैभन्दा आदरणीय र जिम्मेवार व्यक्तित्वको रूपमा वर्णन गर्दै पेसाप्रति इमान्दार शिक्षकमार्फत देशले जिम्मेवार र सकारात्मक नागरिक तयार गर्न सक्ने विश्वास व्यक्त गरे ।
गुणस्तरीय शिक्षाका लागि सम्पूर्ण पदाधिकारी र शिक्षकहरू एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले आधुनिक शिक्षा प्रणाली र प्रविधिसँग शिक्षकहरू सधैं अपडेट हुनुपर्नेमा विशेष जोड दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्कुलका प्राचार्य, समादेशक, शिक्षक–शिक्षिका तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।