कलाघरमा तामाङ संस्कृतिको सम्मानसहित स्व. जयनन्द लामाको शालिक स्थापना

सिन्धुली,असार ३ — कला सृजना अभियान अन्तर्गत कलाघरमा तामाङ संस्कृतिको झल्को दिने गरी स्वर्गीय बरिष्ठ कलाकार जयनन्द लामाको शालिक स्थापना गरिएको छ। तामाङ पोशाकमा डम्फु बजाउँदै गरिएको शालिक निर्माणले तामाङ समुदायको सांस्कृतिक पहिचान झल्काउने उद्देश्य राखिएको छ।
शालिक निर्माणका लागि जयनन्द लामाको परिवारबाट अनुमति लिइएको थियो। साथै, महिला तर्फ तामाङ संस्कृतिसहितको अर्को मूर्तिकला पनि चाँडै निर्माण गरिनेछ।
हरिहरपुरगढी गाउँपालिकाको दुई लाख रुपैयाँ आर्थिक सहयोगमा मूर्तिकार भक्त कोबाली मेवाहाङले तयार पारेको उक्त फाइबर शालिक अब कलाघरमा अवलोकन गर्न सकिनेछ। अनावरण कार्यक्रममा स्व. लामाको परिवार, गाउँपालिका प्रमुख बज्रध्वज वाइबा, उपप्रमुख चेखबहादुर थिङलगायतको उपस्थिति रहनेछ।
शालिक स्थापना संगै कलाघरको सांस्कृतिक र कलात्मक महत्व अझ बढेको छ। कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्ण पालिकाका पदाधिकारी, वडाध्यक्ष, कर्मचारी तथा हरिहरपुरगढी गाउँपालिकाप्रति आयोजकले हार्दिक कृतज्ञता प्रकट गरेका छन्।
कलाघरमा ऐतिहासिक हरिहरपुरगढीको नमुना कलाकृति समेत अवलोकन गर्न सकिनेछ।