वर्षायाममै मेलम्चीको पानी वितरण हुने : खानेपानी मन्त्री यादव



सिन्धुपाल्चोक,असार ३ । खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन्।

सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत अनुगमनपछि मन्त्री यादवले वर्षात्को समयमा पनि स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन्।

“रिबर्मा खोलाको पानी मेलम्ची सुरुङमार्ग हुँदै काठमाडौँमा ल्याउने वैकल्पिक व्यवस्था सफल परीक्षणसहित लागू गरिएको छ,” मन्त्री यादवले बताए, “अब वर्षायाममा पनि काठमाडौँमा नियमित पानी वितरण हुनेछ।”

वर्षायामको जोखिमलाई ध्यानमा राखी गरिएको तयारीले मेलम्चीको पानी वर्षभर आपूर्ति गर्न सहज बनाउने मन्त्री यादवको विश्वास छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेका अनुसार, आवश्यक सम्पूर्ण भौतिक संरचना तयार भइसकेको छ र दैनिक पाँचदेखि सात करोड लिटर पानी सुरुङमार्फत काठमाडौँ ल्याउने सम्भावना परीक्षणबाट पुष्टि भइसकेको छ।

२०७८ सालको बाढीले मेलम्ची आयोजनामा क्षति पुर्‍याएपछि वर्षायाममा पानी आपूर्तिमा अवरोध हुँदै आएको थियो। यसपटक भने सुरुङ र वितरण प्रणाली सुदृढ गरी प्राविधिक, सुरक्षाकर्मी तथा आपूर्ति टोलीहरू २४ सै घण्टा तयारी अवस्थामा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्