कोशी प्रदेशमा दुई जंगली हात्ती मृत फेला, एक व्यक्ति गम्भीर घाइते
सुनसरी,असार ३ । कोशी प्रदेशअन्तर्गत सुनसरी र झापामा दुई वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन् भने एक जना व्यक्ति हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकको मकैबारीमा करिब पाँच वर्षे भाले हात्ती मृत फेला परेको हो। स्थानीयले मृत हात्ती देखेपछि वन डिभिजन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। कोशी संरक्षण केन्द्र प्रमुख विरेन्द्र गौतमका अनुसार हात्तीको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, पोष्टमार्टमपछि मात्रै मृत्युको कारण पुष्टि हुनेछ।
यस्तै, झापाको मेचिनगर नगरपालिका–१ मा करिब ४० वर्षको अर्को हात्ती मृत अवस्थामा फेला परेको छ। खेतबारी जोगाउन लगाइएको अवैध विद्युतीय करेन्टबाट मृत्यु भएको आशंका गरिएको छ। उक्त हात्ती केही दिनदेखि सो क्षेत्रमा घुमिरहेको थियो। यसको पनि पोष्टमार्टम गरी थप विवरण सार्वजनिक गरिने जनाइएको छ।
यसैबीच, सोमबार बिहान मकैबारी हेर्न गएका मेचिनगर–१ का ५० वर्षीय पूर्णबहादुर श्रेष्ठलाई हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। घटनामा साथमा रहेका दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
बराहक्षेत्र तथा मेचिनगर क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वले विकराल रूप लिँदै गएको छ। खेतीबालीमा क्षति पुर्याउने र जनधनको क्षति हुने घटनाले वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मेचिनगर क्षेत्र भारतबाट पूर्वी नेपाल प्रवेश गर्ने जंगली हात्तीहरूको मुख्य मार्ग मानिन्छ।
मेचिनगर–२ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हाल सो क्षेत्रमा करिब २२ वटा हात्तीको समुह सक्रिय रहेको छ। उनले हात्तीको व्यवहार पूरै बुझ्न नसकिएकाले समस्या झन् जटिल बन्दै गएको बताए। स्थानीयले खेतबाली क्षतिपूर्तिको व्यवस्था भए पनि ज्यानको जोखिम बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्।