शिवपुरी–८ थानापतिबाट हराएका तीन बालबालिका १२ घण्टापछि सकुशल फेला

नुवाकोट,असार ३ । शिवपुरी गाउँपालिका–८ थानापतिबाट हराएका तीन जना बालबालिका १२ घण्टापछि सकुशल फेला परेका छन्।
धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१ स्थायी ठेगाना भई हाल शिवपुरी ८ मा बसोबास गर्दै आएका प्रकाश कुँवरका छोराछोरी सोमबार बेलुकीदेखि हराइरहेका थिए।
जनज्ञान निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत ९ वर्षीया प्रनिशा कुँवर, कक्षा १ की ७ वर्षीया निशा कुँवर र ५ वर्षीय निशान कुँवर सोमबार साँझदेखि बेपत्ता भएका थिए।
स्थानीयबासी तथा आफन्तको सक्रिय खोजीपछि उनीहरूलाई घर नजिकैको खोल्सोमा वर्षात्को पानीले भिजेको अवस्थामा फेला पारिएको स्थानीय ध्रुव कुँवरले जानकारी दिए। उद्धार गरी उनीहरूलाई तत्कालै आफन्तको जिम्मा लगाइएको छ ।
बालबालिका फेला परेपछि स्थानीयमा हर्ष छाएको छ।