“भिजिट भिसा समस्या २०६४ सालदेखिको हो, अब छाडिन्न” — अध्यक्ष प्रचण्ड

चितवन,असार ३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ सम्बन्धी समस्या अहिले देखिएको जस्तो मात्र नभई सन् २०६४ सालदेखि नै चल्दै आएको पुरानो समस्या भएको स्पष्ट गरेका छन् ।
प्रेस सेन्टर चितवनले आज बिहान दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले “यो समस्या २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरा तपाईहरूले पनि थाहा पाउनु भएको छ, हामीले पनि थाहा पाएकै छौँ” भन्दै यस विषयमा अब छानबिन र नीतिगत सुधारको आवश्यकता औँल्याए।
उनले यो विषयलाई ‘यत्तिकै नछाडिने’ स्पष्ट पार्दै भने, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन।” आवश्यकता परे संविधान संशोधन, ऐन निर्माणदेखि लिएर नीतिगत निर्णयसम्म गर्न सरकार तत्पर रहने धारणा व्यक्त गरे ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चालु संसद् अवरोध अन्त्य गर्न आफूले जिम्मेवारीपूर्वक भूमिका खेलेको र बजेट पारित गर्नु पर्ने, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन जस्ता महत्त्वपूर्ण कानुनहरू अघि बढाउनु पर्ने, साथै शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्नुपर्ने भएकाले ३० दिनभित्र छानबिन समिति गठन गर्ने सहमतिमा संसद् अवरोध खुलाइएको स्पष्ट गरे ।