नुवाकोट शिवपुरीको समुन्द्रा माविमा भरियो रङ्गीचङ्गी भित्तेचित्र र सन्देश, बोल्न थाले भित्ताहरु



• भरतसन्तोषी लामा

नुवाकोट,असार ३— जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माध्यमिक विद्यालय अब पहिलाजस्तो देखिँदैन। विद्यालयको भित्ताहरू रङ्गीचङ्गी चित्रले सजिएका छन्, जसले महिला हिंसाविरुद्धको सन्देशदेखि सामाजिक चेतनासम्म प्रसारण गरिरहेका छन्।

स्थानीय ललित लामाको सहकार्यमा भ्वाइस अफ ओम्यान र कालो मिडिया संस्थाले झण्डै ५ लाख रुपैयाँ बराबरको लागतमा विद्यालय परिसरलाई चित्रमय बनाएका हुन्। संस्थाका १० जना कर्मचारीले एक हप्तासम्म श्रमदान गर्दै भित्तेचित्र र रङ्गरोगनमा सक्रिय सहभागिता जनाए। मंगलबार एक विशेष समारोहका बीच विद्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको हो।

संस्थाका प्रतिनिधिहरूले विद्यालयमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा जनचेतना फैलाउने उद्देश्यसहित चित्रहरु कोरिएको बताएका छन्। “हाम्रो लक्ष्य शिक्षासँगै चेतना फैलाउनु हो,” कार्यक्रमका दौरान एक प्रतिनिधिले भने, “विशेषगरी ग्रामीण भेगमा महिलाप्रतिको थिचोमिचो र विभेद अन्त्य गर्न यस्ता अभियान आवश्यक छ।”

समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकालले विद्यालयलाई अब “फुलबारीका छरिएको सुगन्ध” जस्तो अनुभव भएको बताए। उनका अनुसार भित्तेचित्रहरूले विद्यार्थी मात्र होइन, अभिभावक र आगन्तुकहरूलाई समेत एकपटक सोच्न बाध्य पार्ने खालका छन्।

वडा नम्बर ६ का अध्यक्ष विष्णु श्रेष्ठले ग्रामीण परिवेशमा महिलाप्रतिको अन्याय यदाकदा देखिने गरेको उल्लेख गर्दै विद्यालयस्तरबाटै सन्देश प्रवाह हुनु सकारात्मक पक्ष भएको बताए। यस्तै, वडा सदस्य कमल लामाले कार्यक्रमको खुलेर प्रशंसा गरे।

समारोहमा संस्थाको तर्फबाट विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो भने वडा कार्यालय र विद्यालयले स्थानीय उत्पादन ‘बेसार’ उपहारस्वरूप प्रदान गरिएको विद्यालयका शिक्षक सिद्धराज जोशीले जानकारी दिए।

सजिएको विद्यालय देखेर विद्यार्थीहरू उत्साहित देखिन्थे। कक्षा १२ की छात्रा अनिता थापा भन्छिन्, “अब हाम्रो स्कुल झन् राम्रो देखिएको छ। सबैलाई पढ्न झन् रमाइलो भएको छ, विद्यालय आउआउ लाग्छ ।”

यो पहलले विद्यालय शिक्षालाई मात्र होइन, समग्र सामाजिक रूपान्तरणलाई पनि गति दिने विश्वास गरिएको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्