पञ्चकन्याको मिलडाँडा–घलेभञ्ज्याङ सडक कालोपत्रे कार्यको अनुगमन सम्पन्न

नुवाकोट,असार ३ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा पर्ने मिलडाँडा–घलेभञ्ज्याङ सडकखण्डको कालोपत्रे कार्यको अनुगमन सम्पन्न भएको छ।
मंगलबार सम्पन्न अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिकी संयोजक विमला के.सी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, गाउँपालिकाका कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाको योजना अन्तर्गत हालसम्म १ किलोमिटर सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। स्थानीयको लामो समयदेखिको माग अनुसार अगाडि बढाइएको यस योजनाले सवारी आवागमन सहज हुने र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
अनुगमन टोलीले निर्माणको गुणस्तरमा विशेष ध्यान दिनु पर्नेमा जोड दिँदै समयमै कार्य सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।