त्रिदेशीय टी–२० शृङ्खला: नेपालसामु स्कटल्याण्डले ९८ रनको लक्ष्य प्रस्तुत



काठमाडौं,असार ३ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपालसामु स्कटल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड टोली १९.४ ओभरमा अलआउट हुँदै जम्मा ९७ रनमा सीमित भयो। जवाफमा नेपाल अहिले ९८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान म्याथ्यु क्रसले १५ तथा ब्रेन्डन म्याकमुलनले १० रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ११ रन खर्चिएर ४ विकेट लिए। करण केसी र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट झारे भने ललित राजवंशीले १ विकेट लिए।

यो खेलमार्फत करण केसीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। उनी नेपालका लागि सो कीर्तिमान बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरेका थिए।

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्