टोखा झोरमा मुढा बनाउने तालिम सम्पन्न



काठमाडौं,असार ४ — टोखा नगरपालिका–१ नं. वडा कार्यालयको आयोजनामा ‘मुढा बनाउने तालिम’ सम्पन्न भएको छ। अन्नपूर्ण प्रोडक्सन प्रा.लि.को सहजीकरणमा आयोजित उक्त तालिम गत जेठ १८ गतेदेखि असार १ गतेसम्म सञ्चालन गरिएको हो।

टोखा–१ स्थित वडा कार्यालय परिसरमा सम्पन्न तालिममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सीप विकासमार्फत आत्मनिर्भरता र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले मुढा निर्माणका सीपहरू प्रदान गरिएको थियो।

समापन कार्यक्रममा वडाध्यक्ष रमेशकुमार लामिछाने, वडा सदस्यहरु, जनप्रतिनिधिहरू तथा तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले तालिम निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

टोखा नगरपालिकाको पहलमा सञ्चालित यस्ता सीपमूलक कार्यक्रमले स्थानीय समुदायमा रोजगारीको विकल्प वृद्धि गर्नुका साथै परम्परागत सीपको संरक्षणमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्