एसइई उत्तीर्ण विद्यार्थीलाई तारकेश्वर नगरमा सम्मान



काठमाडौँ, असार २१ – काठमाडौँको तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा नगरका ७१ वटै संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा नगरबाट ४.० जीपीए हासिल गर्ने १७ जना विद्यार्थीलाई विशेष रूपमा सम्मान गरिएको थियो भने अन्य विद्यार्थीलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिने संयोजक सुशील भट्टले जानकारी दिए। ४.० जीपीए ल्याउने विद्यार्थीमा प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस्नेत, विजय कुमार शाह, प्रतिज्ञा तामाङ र दीपेश गौतम रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले “देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ” भन्दै अध्ययन, विश्लेषण र समीक्षाका आधारमा समर्थन वा विरोध गर्न विद्यार्थीहरूलाई सुझाव दिए। उनले “नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्” भन्ने सन्देश दिँदै मुलुकमै बसेर नयाँ कुरा सिक्न र प्रश्न गर्न आग्रह गरे।

त्यसैगरी, नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले विद्यार्थीलाई भविष्यको कर्णधार भन्दै लक्ष्य निर्धारण गरेर अघि बढ्न प्रेरणा दिए। संयोजक सुशील भट्टले सम्मान कार्यक्रमले नवयुवामा थप उत्साह जाग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वरका विभिन्न वडाध्यक्षहरू, स्थानीय राजनीतिक नेतृत्व र अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न कलेजहरूको जानकारीमूलक स्टल राखिएको थियो भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्