प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले आर्थिक कूटनीतिमा नयाँ अवसर थपेको दाबी
काठमाडौँ, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको आर्थिक कूटनीति र वैदेशिक सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा उनले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र भ्रमणको विवरण प्रस्तुत गर्दै भने, “यस सम्मेलनले विश्वस्तरमा नयाँ साझेदारी बढाउने, दिगो विकास लक्ष्य (SDG) हासिल गर्न गति थप्ने तथा नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने काम गरेको छ।”
प्रधानमन्त्री ओलीका अनुसार शक्ति राष्ट्रहरूबीचको बढ्दो द्वन्द्वका कारण बहुपक्षीय प्रणाली र संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला नेपालको उच्चस्तरीय सहभागिताले ‘बहुपक्षीयता’ र संयुक्त राष्ट्रसंघप्रतिको ऐक्यबद्धता प्रष्ट रूपमा देखाएको छ।
उनले सम्मेलनका क्रममा अति कम विकसित मुलुकहरूको विकासका लागि जोडदार पैरवी गरिएको, विकास वित्त, औपचारिक-अनौपचारिक सहयोग र जलवायु वित्तका क्षेत्रहरूमा समेत सहयोगको आग्रह गरिएको जानकारी दिए ।
“नेपाल अन्तर्राष्ट्रिय समुदायमा जिम्मेवार र सक्षम राष्ट्रको रूपमा प्रस्तुत भएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो भ्रमण आर्थिक कूटनीति अगाडि बढाउने, वैदेशिक लगानी भित्र्याउने र राष्ट्रसंघसँगको सहकार्य सुदृढ पार्ने दिशामा फाइदाजनक रह्यो।”
सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षी पोद्रो साञ्चेजसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए । उनी असार १४ गते स्पेन प्रस्थान गरी असार २२ गते स्वदेश फर्किएका हुन् ।

