नुवाकोटको लिखु गाउँपालिकामा नि:शुल्क दन्त शिविर सम्पन्न, ३०५ जनाले लिए सेवा



नुवाकोट,असार २३ — लिखु गाउँपालिका–१ र २ को समन्वयमा, एराउन्ड गुड पेपुल रेफार्मिङ डेन्सिटी (Around Good Peoples Reframing Dentistry) काठमाडौँ र ऐरल्याण्ड डाक्टरहरूको प्राविधिक सहयोगमा यही असार १७ गतेदेखि आजसम्म सञ्चालित सातदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ।

शिविरमा ३०५ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्। तीमध्ये १११ जनाको दाँतमा सिमेन्ट भरिएको, ११४ जनाको दाँत सफा गरिएको र ८० जनाको बिग्रिएको दाँत निकालिएको जानकारी लिखु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भिमबहादुर रोक्काले जानकारी दिएका छन्। ग्रामीण भेगमा दन्त सेवा अभाव रहेको अवस्थामा यति ठूलो संख्यामा मानिसले सेवा लिनु सकारात्मक उपलब्धि भएको उनले बताए ।

कृषिको सिजन मानिने असार महिनामा समेत उल्लेख्य संख्यामा सेवाग्राहीको सहभागिता रहनु कार्यक्रमप्रतिको उत्साह र आवश्यकतालाई दर्शाउने संकेत भएको आयोजकहरूले जनाएका छन्। स्थानीयस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गरिएको यो कार्यक्रमले धेरै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्‍याएको छ।

यस्तै, सेवा प्रभावकारी भएको जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको प्रतिक्रिया आधारमा आउँदो आर्थिक वर्षमा समेत पालिकाभित्र तीनवटा केन्द्र तोकी दन्त शिविर थप व्यापक रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको बताइएको छ।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग पुर्‍याउने सम्पूर्ण चिकित्सक टोलीलगायत सहकार्य गर्ने संस्थाहरू तथा पालिकाका जनप्रतिनिधिहरूप्रति आयोजकले आभार प्रकट गरेका छन्। कार्यक्रम समापन समारोहमा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्