पूर्व मुख्य न्यायाधिवक्ता झाको हस्ताक्षर : “रवि लामिछानेमाथि अन्याय भइरहेको छ”



काठमाडौं, असार २३ । मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोध स्वरूप कारबाही भइरहेको आरोप लगाउँदै त्यसको विरुद्धमा हस्ताक्षर गरेका छन्।

झाले रविको समर्थनमा जारी हस्ताक्षर अभियानमा सहभागी हुँदै आफू कानुनीरूपमा लामिछानेको प्रतिनिधित्व गर्न तयार रहेको स्पष्ट पारे। उनले भने, “म उहाँको तर्फबाट बहस गर्ने वकिल हुँ। मैले सबै फाइलहरू अध्ययन गरेको छु। कुनै पनि फाइलमा उहाँ सहकारीका ऋणी, सदस्य वा सरोकारवाला देखिनुहुन्न।”

उनको दाबीअनुसार रवि लामिछानेमाथि दायर मुद्दाहरूमा प्रत्यक्ष संलग्नता प्रमाणित हुने कुनै कानुनी आधार छैन। यसप्रकारको आरोप र कारबाहीले राजनीतिक प्रतिशोधको आशंका पैदा गरेको उनको भनाइ छ।

पूर्व मुख्य न्यायाधिवक्ता जस्तो व्यक्तित्वको समर्थनले यो प्रकरण नयाँ कानुनी बहसमा प्रवेश गर्ने संकेत देखिएको छ। हाल लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी प्रकरणमा अनुसन्धानका लागि भैरहवा कारागारमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्