टोखा-छहरे सुरुङमार्ग र सडक निर्माणमा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकायबीच छलफल



काठमाडौँ, असार २३ । टोखा–छहरे खोला सुरुङमार्ग, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति योजनामा देखिएको अवरोध हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकारवाला निकायबीच संयुक्त छलफल भएको छ।

नयाँ आर्थिक वर्षसँगै निर्माण कार्यलाई तीव्रता दिन तथा दसैँ–तिहारमा सवारी आवागमन सहज बनाउने लक्ष्यसहित पूर्वाधारको तयारी सुरु गरिएको हो।

छलफलमा टोखा–छहरे सुरुङमार्गको वातावरणीय अध्ययन, चिनियाँ पक्षसँगको समन्वय, र आवश्यक सहजीकरणमा वन मन्त्रालयले भूमिका खेल्नुपर्ने विषयमा निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

नागढुङ्गा सुरुङमार्गको निर्माण ९२ प्रतिशत सकिएको छ। सञ्चालनका लागि आवश्यक कानुनी ढाँचा, व्यवस्थापन प्रणाली र नीतिगत तयारीबारे गम्भीर छलफल गरिएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग सञ्चालन अनुभव हुने भएकाले विशेष तयारी गर्न जोड दिइएको बताइएको छ।

स्याफ्रुबेँसी–रसुवागढी सडकमा हालसम्म ८२ किमीमध्ये ३८ किमी कालोपत्रे सम्पन्न भइसकेको र आगामी आर्थिक वर्षभित्र बाँकी १९ किमीमा ठेक्का दिने तयारी रहेको मन्त्रालयले जानकारी गराएको छ।

छलफलमा प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडा, किरण पौडेल, विभिन्न मन्त्रालयका सचिवहरू तथा सम्बन्धित प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्