त्रिशूली नदीमा भीषण बाढी, किनार आसपासका बासिन्दालाई सतर्क रहन आग्रह



नुवाकोट/रसुवा, असार २४ । भारी वर्षासंगै केरुङ, रसुवागढी हुँदै ठूलो मात्रा पानी बगिरहेको जानकारीसँगै त्रिशूली नदी किनार आसपास बसोबास गर्ने रसुवा र नुवाकोटका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूका अनुसार नदी किनारका खाल्टे क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ। हालसम्म खाल्टे बस्तीका विस्थापितहरू सुरक्षित स्थानमा पुगिसकेको जानकारी प्राप्त भएको छ।

प्रशासनले त्रिशूली नदी आसपासका सम्पूर्ण नागरिकलाई अनावश्यक रुपमा नदी किनारमा नजान, सतर्कता अपनाउन र स्थानीय तह तथा सुरक्षाकर्मीको निर्देशन पालन गर्न अनुरोध गरेको छ।

हालसम्म बाढीले नेपाल-चीन बीचको मितेरी पुलमा क्षति र केहि कन्टेनर बगाएको विवरण प्राप्त भएपनि विस्तृत विवरण आउन बाँकी छ। तर, बाढीको सम्भावित प्रभाव नुवाकोटको देविघाट, बेलकोटगढी, विदुरलगायतका स्थानमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित निकायहरूबाट अवस्था निरन्तर अनुगमन भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्