चीनतर्फबाट आएको भीषण बाढीले रसुवागढीमा ठूलो क्षति, मितेरी पुल समेत बगायो



रसुवा, असार २४ । चीनको केरुङ र लेन्देखोलातर्फबाट आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।

मंगलवार बिहान करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह (Dry Port) मा समेत क्षति पुर्‍याएको छ। बन्दरगाह परिसरमा भन्सार जाँचका लागि राखिएका र पास भइसकेका केही विद्युतीय सवारीसाधन बगाएको अनुमान गरिएको छ।

यस्तै, नेपाल–चीन सिमानामा रहेको मितेरी पुलसमेत बाढीले बगाएको स्थानीय संगम ठाकुरले जानकारी दिएका छन्। पुल बगाउँदा रसुवागढी नाकाको सञ्‍चालनमा पूर्ण अवरोध उत्पन्न भएको छ।

अत्यधिक वर्षासँगै आएको बाढीले त्रिशुली नदीको जलस्तर समेत खतराको सीमामा पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले नदी किनारका सबै बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षाकर्मी र स्थानीय निकायलाई उद्धार तथा राहत कार्यमा खटाइएको जनाइएको छ।

हालसम्म जनधनको क्षतिको विस्तृत विवरण संकलनको कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्