त्रिशूली नदीको बीचमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार प्रयास
नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको बीचभागमा फसेका एक पुरुष र एक महिलाको हेलिकोप्टरमार्फत उद्धार प्रयास गरिएको छ।
बाढीले बगाएर ल्याएका काठदाउरा टिप्न गएका उनीहरू मंगलबार बिहान करिब ५ बजेदेखि नदीको बहावमा फसेका थिए। ज्यान जोगाउन दुवै जना नदी बीचमै रहेको रुखमा चढेर बसेका थिए।
स्थानीय प्रहरी, सशस्त्र प्रहरी र नागरिकको पहलबाट स्थलगत उद्धार सम्भव नभएपछि करिब ८ बजे हेलिकोप्टरबाट उद्धार कार्य सुरु गरिएको हो। सुरक्षाकर्मी र स्थानीयको निरन्तर प्रयासपछि उच्च तहका नेताहरूको पहलमा हेलिकोप्टर परिचालन भएको जनाइएको छ।
घटनास्थलमा प्रहरी, जनप्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ। उद्धारपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तयारी गरिएको प्रशासनले जनाएको छ।
यसअघि पनि त्रिशूली नदी आसपास बाढीको जोखिम बढ्दै गएकाले प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरिरहेको छ।

