त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार



नुवाकोट, असार २४ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ। मंगलबार बिहान करिब ५ बजेदेखि नदीको बीचमा रहेको रुखमा चढेर ज्यान जोगाइरहेका उनीहरूलाई बिहान पौने ८ बजेतिर उद्धार गरिएको हो।

उद्धार गरिएका व्यक्तिहरूमा किस्पाङ गाउँपालिका–४ स्थायी ठेगाना भई हाल विदुर नगरपालिका–९ बस्ने ५६ वर्षीय पाल्सेन तामाङ र मंगली तामाङ रहेका छन्। उनीहरू बाढीले बगाएर ल्याएका काठदाउरा टिप्न गएका बेला त्रिशूली नदीको बढ्दो बहावमा फसेका थिए।

स्थानीय सुरक्षा निकाय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरुवाती उद्धार प्रयास गरे पनि नदीको बहाव तीव्र भएकाले स्थलगत रूपमा उद्धार सम्भव भएको थिएन। पछि जनप्रतिनिधि र नेताहरूको पहलमा सेना परिचालित हेलिकोप्टरमार्फत उद्धार सम्भव भएको हो।

त्रिशूली नदीमा पानीको सतह उच्च रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। उद्धारपछि दुवै जनालाई प्राथमिक स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पठाइएको जनाइएको छ।

घटनास्थलमा प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्