रसुवागढीमा भीषण बाढी: मितेरी पुल बगायो, १८ जना सम्पर्कविहीन



रसुवा, असार २४ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा गएराति चिनको भूभागमा परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

आज बिहान करिब ३ बजेतिर आएको बाढीले रसुवा र चीनको सीमा जोड्ने मितेरी पुल पूर्णरूपमा बगाएपछि आवागमन ठप्प भएको हो।

बाढीका कारण बिहान ४:४० बजेतिर रसुवागढीमा रहेको ईभी चार्जिङ स्टेशन पूर्णरूपमा क्षति भएको छ भने ७/८ वटा विद्युतीय सवारीसाधन (ईभी) बगाएको प्रारम्भिक जानकारी आएको छ। त्यस्तै, रसुवा भन्सार यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको बताइएको छ।

बाढीपछि उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर र प्र.ज. लोकेन्द्र बोहरा हालसम्म सम्पर्कविहीन छन्।

प्रहरी, सशस्त्र प्रहरी र विभिन्न प्रहरी चौकी तथा पोष्टहरूबाट खटिएको ९४ जनाको टोली अहिले उद्धार कार्यमा सक्रिय रहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्र.नि. कृष्ण बहादुर धितालको नेतृत्वमा २० जना, टिमुरेबाट प्र.ना.नि. धन बहादुर तामाङको कमाण्डमा २८ जना, रसुवागढीबाट प्र.ब.ना.नि. सुमन महन्त गिरीको नेतृत्वमा १२ जना, अन्य चौकीहरूबाट थप ३४ जना गरी उद्धार कार्यमा खटिएको हो।

हालसम्म १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ जना स्थानीय नागरिक गरी ९ जनाको उद्धार गरिएको छ। बाढीका कारण हालसम्म ३ जना प्रहरी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक गरी जम्मा १८ जना सम्पर्कविहीन रहेका छन्।

यसैबीच, बाढीका कारण गोसाइकुण्ड गाउँपालिका–५ अन्तर्गत पासाङल्हामु राजमार्ग चिरा परेर धुन्चे–टिमुरे खण्डको सडक अवरुद्ध भएको छ।

प्रहरी, सशस्त्र, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले खोजी तथा उद्धार कार्य जारी राखेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्