त्रिशुली नदीको सिसौको रुखमा अड्किएका दुईजनाको नेपाली सेनाद्वारा सकुशल उद्धार
नुवाकोट, असार २४ । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित खोलाको बीचमा रहेको सिसौको रुखमा अड्किएर बसेका दुई जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
मंगलबार बिहान करिब ५:४५ बजेको समयमा जिल्ला नुवाकोट किस्पाङ गाउँपालिका–४ घर भई हाल बिदुर नगरपालिका–९ मा बसोबास गर्दै आएका करिब ५५ वर्षीय पाल्तेन तामाङ र करिब ५२ वर्षीया मंगली तामाङ खोलामा बगेर सिसौको रुखमा चढेर बसेको अवस्थामा भेटिएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा १५ जना प्रहरी टोली, नगर प्रहरी कार्यालय कोलनीबाट प्रहरी सहायक निरीक्षक श्रीकृष्ण भण्डारीको नेतृत्वमा ५ जना, प्रहरी नायब निरीक्षक हरि रायको कमाण्डमा थप प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरे नेतृत्वको २० जना टोली उद्धारमा खटिएका थिए।
उद्धार प्रयास चलिरहेकै बेला बिहान ८:०० बजेतिर नेपाली सेनाको हेलिकप्टरमार्फत दुवैजनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर र नगर प्रहरी कार्यालय कोलनीबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्छ।
प्रहरी र सुरक्षा निकायको समन्वयमा गरिएको उद्धारप्रति स्थानीयवासीले कृतज्ञता प्रकट गरेका छन्।

