जर्मनीसँग द्विपक्षीय व्यापार र लगानी विस्तारमा जोड: परराष्ट्रमन्त्री डा. आरजु राणा



बर्लिन,असार २४ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच आज जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल–जर्मनी सम्बन्ध, द्विपक्षीय हितका विषयहरू र साझा चासोका विविध क्षेत्रबारे कुराकानी भएको जनाइएको छ।

त्यस अवसरमा मन्त्री डा. राणाले जर्मनी नेपालका पुराना तथा महत्वपूर्ण विकास र व्यापार साझेदारहरूमध्ये एक रहेको स्मरण गर्दै विगतदेखि हालसम्म प्राप्त सहयोगप्रति जर्मनी सरकार र जनताप्रति आभार व्यक्त गरिन।

उनले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्न दुवै देशका निजी क्षेत्रहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै रासायनिक मल उत्पादनजस्ता क्षेत्रमा जर्मन लगानीको आग्रह गरिन।

त्यसैगरी मन्त्री डा. राणाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुने प्रक्रियामा रहेको र त्यसलाई सहज तथा दिगो बनाउन रणनीति तयार पारिरहेको जानकारी गराउँदै त्यसपछिको विकास यात्राका लागि जर्मनीसहित युरोपेली साझेदारहरूसँग स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरिएको बताइन।

नेपालले संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा आगामी सदस्यता प्राप्तिका लागि उम्मेदवारी दिएको जानकारी दिँदै मन्त्री डा. राणाले सन् २०२७–२०२९ का लागि मानवअधिकार परिषद्, २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) र सन् २०३७–२०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि नेपालले उम्मेदवारी दिएको र ती पदमा नेपालको उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेकी थिइन। विदेशमन्त्री वेडफुलले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

भेटमा मन्त्री डा. राणाले नेपाल र युरोपबीच प्रत्यक्ष हवाई सम्पर्कको अभावले पर्यटन क्षेत्र प्रभावित भइरहेको बताउँदै नेपाल र जर्मनीबीच सिधा उडानको व्यवस्था मिलाइदिन आग्रह गरिन। उनले युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा नेपाली एयरलाइन्स सूचीकृत भएकाले उडान प्रतिबन्ध लागिरहेको उल्लेख गर्दै नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसदमा दुई विधेयक प्रस्तुत गरिसकेको जानकारी दिइन। ती विधेयकहरू युरोपेली युनियन र ICAO का सिफारिसअनुसार तयार पारिएको बताउँदै उनले प्रतिबन्ध हटाउन जर्मनीले भूमिका खेल्नुपर्ने उल्लेख गरिन । यस सम्बन्धमा जर्मनीका विदेशमन्त्री वेडफुलले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको असरबारे जानकारी दिँदै जलवायु न्यायको अभियानमा जर्मनीसँग सहकार्यको अपेक्षा गरिएको बताइन।

प्रतिक्रिया दिनुहोस्