प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्र ल्हेन्दे खोला र भोटेकोसी निरीक्षणमा



काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न आज बिहान बाढी प्रभावित क्षेत्रतर्फ गएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल पनि साथमा छन्।

निरीक्षण टोलीमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि सहभागी छन्।

टोलीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको यथार्थ स्थिति अवगत लिने र तत्काल राहत तथा पुनःस्थापनाका लागि आवश्यक सरकारी तयारीको संयोजन गर्ने उद्देश्य लिएको छ।

गत असार २४ गते राति चीनतर्फको अबिरल वर्षाका कारण ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी क्षेत्रका संरचना ध्वस्त बनाएको छ। मितेरी पुल बगाउनुका साथै निर्माणाधीन सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुगेको छ।

सरकारले तत्काल उद्धार र राहत कार्यका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासन परिचालन गरिसकेको छ भने उच्चस्तरीय निरीक्षणपछि थप दीर्घकालीन समाधानका कार्यक्रम तय गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्