गौरीघाट, गुह्येश्वरी क्षेत्रमा बाग्मतीको जलसतह सतर्कता तह पार
काठमाडौं, असार २५ । बाग्मती नदीको गौरीघाट र गुह्येश्वरी क्षेत्रको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका इञ्जिनीयर आशीष भट्टका अनुसार मंगलबार राति १२ बजेपछि निरन्तर परेको वर्षाका कारण बाग्मती नदीमा पानीको बहाव तीव्र बनेको हो। राति करिब २ बजेदेखि नदीको सतह सतर्कता तह पार गरेको जनाइएको छ।
सतर्कता तह पार गरेसँगै गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित रहन मोबाइल सन्देशमार्फत जानकारी दिइएको महाशाखाले जनाएको छ।
यसैगरी, रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा समेत जलसतह सतर्कता नजिक पुगेको जानकारी दिइएको छ।
राजधानीका अधिकांश स्थानमा राति १२ बजेदेखि नै लगातार करिब २५ मिलिमिटरको दरमा वर्षा भइरहेकोले, नदी आसपासका बासिन्दालाई सचेत रहन विभागले आग्रह गरेको छ।
विभागले बाढीको जोखिम थप बढ्न सक्ने भन्दै नदी किनार क्षेत्रका नागरिकहरूलाई अत्यावश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न सुझाव दिएको छ।

