अमेरिकाको टेक्सासमा बाढीले १०९ जनाको मृत्यु, १६० भन्दा बढी बेपत्ता



अमेरिका, असार २५ । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०९ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी मानिस अझै बेपत्ता रहेको गभर्नर ग्रेग एबटले जानकारी दिएका छन् ।

चार दिनअघि केर काउन्टीमा आएको आकस्मिक बाढीपछि उद्धारकार्य जारी रहँदा बेपत्ताको संख्या बढ्ने आशंका गरिएको छ। बाढीले सबैभन्दा बढी क्षति ‘फ्ल्यास फ्लड एली’ भनिने केर काउन्टीमा पुर्‍याएको छ, जहाँ मात्रै ९४ जनाको मृत्यु भएको छ।

बाढीका बेला समर क्याम्पमा रहेका २७ बालबालिका र सल्लाहकारहरू पनि प्रभावित भएका छन्। पाँच बालबालिका र एक सल्लाहकार अझै बेपत्ता छन्।

बाढीपछि केही ठाउँमा खोजी र उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्। पानी र माटोले उद्धारमा प्रयोग गरिने हेलिकप्टर, ड्रोन र कुकुरहरूलाई प्रभावित बनाएको छ।

ट्रम्प प्रशासनले उद्धार कार्यमा थप सहयोग पुर्‍याउने जनाएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी गरेका छन्। यता, जलवायु विज्ञहरूले चरम खडेरी, असामान्य वर्षा र कमजोर चेतावनी प्रणालीका कारण बाढीको असर गम्भीर बनेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्