गृहमन्त्री लेखकको प्रश्न: “रवि लामिछाने भिजिट भिसामा अमेरिका गएका थिए कि होइन?”
काठमाडौं, असार २५ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई निलम्बित सांसद रवि लामिछाने कुनै समय अमेरिका भिजिट भिसामा गएका थिए कि होइन भन्ने प्रश्न गर्दै टिप्पणी गरे ।
सरकारको विषयमा अनुमान र कल्पनाको भरमा टीकाटिप्पणी गर्नु अनुपयुक्त हुने बताउँदै मन्त्री लेखकले संसद् वा संसद् बाहिर बोल्नु अघि पर्याप्त जानकारी लिएर मात्र धारणा राख्न आग्रह गरे ।
उनले भने, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु। भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी होस्, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन?”
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणका विषयमा उठेका आशंका र प्रचारलाई गलत उल्लेख गर्दै गृहमन्त्री लेखकले भ्रमणमा सहभागी हुने व्यक्तिहरूको छनोट मन्त्रिपरिषद्को निर्णय अनुसार हुने स्पष्ट पारे ।
उनले थपे, “प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये को–को फर्किएनन् भनेर नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो।”
गृहमन्त्री लेखकले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा सुविधा पाउने–नपाउने सबैलाई सरकारले सुरक्षाको व्यवस्था गरे पनि त्यसको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरे ।

