हिउँ पग्लिएर बनेको हिमताल फुट्दा बाढी: नेपालमा जलवायु संकटको चेतावनी



काठमाडौँ, असार २६ – नेपाल–चीन सीमावर्ती तिब्बती हिमनदीबाट हिउँ पग्लिएर बनेको ताल फुट्दा आएको बाढीले नेपालमा जनधनको क्षति हुने जोखिम बढेको छ। मङ्गलबार बिहान रसुवा जिल्लाबाट करिब ३५ किलोमिटरमाथि रहेको हिमनदीको सुप्राग्लेसियल ताल फुटेर भोटेकोसी हुँदै त्रिशूली नदीमा ठूलो बाढी आएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टका अनुसार यस प्रकारको बाढी जलवायु परिवर्तनको प्रत्यक्ष असर हो। चीनबाट प्राप्त उपग्रह तस्बिरअनुसार आइतबारसम्म ६ लाख ३८ हजार वर्गमिटर क्षेत्रफल ओगटेको ताल मङ्गलबार घटेर करिब ४ लाख ३५ हजार वर्गमिटरमा सीमित भएको छ।

हिमनदी माथिल्लो भागमा अत्यधिक हिउँ पग्लिएर बनेको ताल कमजोर भूगर्भीय सतहले थेग्न नसक्दा विस्फोट भएको अनुमान गरिएको छ। यसअघि पनि हुम्ला, सोलुखुम्बु र मेलम्ची क्षेत्रमा यस्तै प्रकारको हिमताल विस्फोटबाट बाढी आइसकेको थियो।

वैज्ञानिक नितेश खड्काका अनुसार तिब्बतमा सन् २०२१ यताका साना तालहरू २०२३ मा ठूला बन्न पुगेका छन्, जसले अब बाढीको खतरा थपिएको संकेत दिन्छ। हिममण्डल विज्ञ अमृत थापाले बाढी आउनु केही दिनअघि नै हिमालको माथिल्लो सतहको हिउँ पूर्ण पग्लिएको पुष्टि गरेका छन्।

अध्येता सुदीप ठकुरीका अनुसार नेपालमा जलवायु परिवर्तनका कारण तापक्रम तीव्र रूपमा बढिरहेको छ, जसले गर्दा हिउँ पग्लने दर उच्च छ। इसिमोड (ICIMOD) को अध्ययन अनुसार नेपालमा २१ वटा जोखिमयुक्त हिमताल छन् भने अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ४७ वटा हिमताल खतरा निम्त्याइरहेका छन्। तर, सन् २०१५ यता ती तालहरूको वैज्ञानिक अध्ययन भएको छैन।

प्रतिक्रिया दिनुहोस्