बिदुर नगरपालिकाद्वारा जेष्ठ नागरिकको सम्मानमा विश्रामस्थल निर्माण
नुवाकोट, असार २६ — बिदुर नगरपालिका–२ शिवालय टोलमा जेष्ठ नागरिकको सम्मान र सहजताका लागि ‘जेष्ठ नागरिक विश्राम स्थल (चौतारा)’ निर्माण भइरहेको छ। नगरपालिकाले एक लाख ४९ हजार रुपैयाँको लागतमा उक्त विश्रामस्थल निर्माण कार्य अघि बढाएको हो।
नगरपालिकाले जेष्ठ नागरिकप्रति कदर व्यक्त गर्दै विश्रामका लागि सुविधायुक्त चौतारा निर्माण गर्न लागेको जनाएको छ। स्थानीयस्तरमै सामाजिक उत्तरदायित्वको अभ्यासस्वरूप यो पहल गरिएको जनाइएको छ।
नगर प्रमुख, वडाध्यक्ष र स्थानीय सरोकारवालाहरूको समन्वयमा काम अघि बढेको र चाँडै सम्पूर्ण निर्माण सम्पन्न गरिने जानकारी दिइएको छ। चौतारामा बस्न मिल्ने बेन्च, छायाँको व्यवस्था, फूलबारी र विश्राम अनुकूल वातावरण तयार गरिनेछ।
स्थानीय वासिन्दा र जेष्ठ नागरिकहरूले यो प्रयासको सराहना गर्दै नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन्।

