त्रिभुवन विश्वविद्यालयको ६३ औँ ग्रेसलिष्ट पारित, ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण



काठमाडौं, असार २६। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थी समेटिएको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकमा रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरिएको हो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विश्वविद्यालयको बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले त्रिविलाई २१औँ शताब्दीको आवश्यकताअनुसार प्रतिस्पर्धी, सक्षम र समावेशी विश्वविद्यालयको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएका सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यमा पुग्न शिक्षा क्षेत्रको प्रमुख भूमिका रहने भन्दै त्रिविले त्यस अनुरूप जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे।

नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिविमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (झण्डै ४ हजार) विदेशी विद्यार्थी भर्ना हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

बैठकमा विश्वविद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक नविनता, विद्यार्थी सेवासम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्