अन्ततः ६ महिनापछि बालेनले डाके कार्यपालिका बैठक
काठमाडौं,साउन २६। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले करिब छ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय भएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले बताए ।
प्रत्येक महिना कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान भए पनि भ्यू टावरको नक्सा पास प्रकरणपछि कार्यपालिका बैठक स्थगित हुँदै आएको थियो।
विवादको केन्द्रमा रहेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नक्सा पास प्रक्रियामा अनियमितता गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा नै रोक लगाएका थिए। त्यसपछि, बालेनले आफैंले गठन गरेको छानबिन समितिले पनि गुरागाईं दोषी नरहेको निष्कर्ष निकाल्दा महानगरको नेतृत्वमा संवादहीनता चरममा पुगेको थियो।
गुरागाईंको प्रवेश निषेधसँगै महानगरपालिकाको कार्यसञ्चालन प्रभावित भएको थियो। प्रशासकीय तनाव, राजनीतिक मतभेद र आपसी इगो का कारण महानगरले न बजेट ल्याउन सकेको छ, न त नियमित निर्णयहरू लिन सकेकाे थियाे ।
यहीबीचमा मेयर बालेनले गुरागाईंको अनुपस्थितिमा नै कार्यपालिका बैठक बोलाउने प्रयास गरेका थिए। तर, उपमेयर सुनिता डंगोल र विभिन्न वडाका अध्यक्षहरूले प्रशासकीय अधिकृतबिनाको बैठक गैरकानुनी हुने भन्दै कडा आपत्ति जनाएका थिए। उनीहरूको दबाबपछि अन्ततः बालेन बैठक बोलाउन बाध्य भएका हुन्।

