प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’ उद्घाटन
ललितपुर, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नव निर्मित ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’ को बिहीबार उद्घाटन गरेका छन् ।
खेलाडीहरूलाई नियमित र प्रविधिमैत्री प्रशिक्षण दिन सुविधा सम्पन्न प्रशिक्षण केन्द्रको रुपमा राखेपले सो सेन्टर स्थापना गरेको हो। यस केन्द्रमा एकैपटक एक सयभन्दा बढी खेलाडीले अभ्यास गर्न सक्ने सुविधा छ।
३१ प्रकारका अत्याधुनिक उपकरण जडान गरिएको सेन्टरमा अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायत देशबाट ल्याइएका सामग्री प्रयोग गरिएको राखेपले जनाएको छ। प्रमुख उपकरणहरूमा एक्स बडी मेशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर, डाइनामो, ह्युमन ट्र्याक, भीओटु म्याक्स र टाइमिङ गेट उपकरणहरू छन्।
राखेपका अनुसार ती उपकरणहरूले खेलाडीको शारीरिक अवस्था, कमजोरी र सुधार आवश्यक पक्षहरू पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।
उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेप उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो।
यस सेन्टरको सञ्चालनसँगै खेलकुदको वैज्ञानिक र प्रविधिमूलक प्रशिक्षण प्रणालीमा नयाँ युग सुरु भएको राखेपले बताएको छ।

