नुवाकोटमा गुणस्तरीय शिक्षा विस्तार हुँदै: जिपिए ४ प्राप्त विद्यार्थीहरू सम्मानित



नुवाकोट, असार २७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले नुवाकोटका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिन प्रतिदिन विस्तार हुँदै गएको बताएका छन्।

उनले प्याब्सन नुवाकोटद्वारा बिहीबार विदुरमा आयोजित जिपिए ४ प्राप्त विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै राजा–महाराजाका पालामा विद्यार्थीहरूले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको स्मरण गरे।उनले अहिले भने शिक्षक, अभिभावक र स्थानीय सरकारको सक्रियतामा घर–घरमा पुगेर विद्यार्थीलाई विद्यालयसम्म ल्याउने प्रयास भइरहेकाे समेत बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले केही समयअघि मात्र उच्च शिक्षाका लागि काठमाडौँ जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अहिले नुवाकोटमै गुणस्तरीय शिक्षण संस्थाहरू विकास हुँदै गएपछि त्यो बाध्यता अन्त्य भएको बताइन्। उनले यसवर्षको एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालय मिलाएर ७४ प्रतिशत विद्यार्थी सफल भएको जानकारी दिँदै आउँदो वर्षहरूमा पास दर १०० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताइन्।

कार्यक्रममा सामाजिक विकास शाखा संयोजक लेनिन रञ्जित, वडा नं. २ का अध्यक्ष दीपक कायस्थ, वडा नं. ४ का अध्यक्ष नीलम बाबु ढुंगेल, प्याब्सनका पूर्व केन्द्रीय सदस्य ठाकुर पुडासैनी, बागमती प्रदेश प्याब्सनका संस्थापक अध्यक्ष रामहरी रिमाल, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले पनि नुवाकोटमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय सरकार र विद्यालयबीचको सहकार्य अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

यस वर्षको एसईई परीक्षामा नुवाकोटबाट सामुदायिक र निजी विद्यालयबाट चार जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याएका छन्। सम्मानित हुनेमा ज्ञानज्योति माध्यमिक विद्यालयका बसन्त भट्ट, पृथ्वी माध्यमिक विद्यालयका योगेश्वर आचार्य, अर्किड एकेडेमीका रोहित श्रेष्ठ र युनिभर्सल बोर्डिङ स्कूलका दिप्सन सुवेदी रहेका छन्। यस्तै, छात्रा तर्फ ज्ञानज्योति माध्यमिक विद्यालयकी पूजा न्यौपाने ३.९६ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी थिइन ।

कार्यक्रमकै अवसरमा प्याब्सन नुवाकोटद्वारा आयोजित जिल्ला स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता पनि सम्पन्न भएको थियो। सो प्रतियोगितामा सुभेनियर बोर्डिङ स्कूलकी छात्रा सुलक्षणा कँडेल प्रथम, ग्लोरी इंग्लिस बोर्डिङ स्कूलकी सदिक्षा भट्टराई दोस्रो र ओम माने पब्लिक स्कूलकी स्मारिका बराइली तेस्रो स्थानमा रहिन्। अर्किड एकेडेमीकी सुमिना रिमाल र स्पार्कल इन्टरनेशनल स्कूलका आराध्य अधिकारीले सान्त्वना स्थान हासिल गरे। प्रतियोगितामा १२ वटा विद्यालयका २१ जना विद्यार्थी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्