आलुको बिउँ खोज्न भौंतारिने  रामेछापका किसान आफैं बिउँ निर्यात गर्दै



रामेछाप,असार २८ । केहि बर्ष अगाडि सम्म आलुको बिउँ खोज्न देशका बिभिन्न स्थानमा भौंतारिने  रामेछापका किसानहरु अहिले भने यसको बिउँ निर्यात गर्न सक्ने भएका छन् ।

जिल्लाको उमाकुन्ड र गोकुलगंगा गाउँपालिकाका बिभिन्न वडाहरुबाट अहिले आलुको बिउँ देशका बिभिन्न जिल्लाहरुमा निर्यात हुन थालेको हो । आलुको उत्पादकत्व बृद्धिसंगै  बिउँ र आलु निर्यात हुन थालेको किसानहरुले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले आलु जोन मार्फत बिउँ उत्पादनमा सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरे बताउछन्  ।

परियोजनाले आलुको बिउँ भण्डारणका लागि जिल्लाको उमाकुन्ड र गोकुलगंगा गाउँ पालिकामा रस्टिक स्टोर निर्माण गरेर किसानहरुलाई बिउँ उत्पादनमा सहयोग गरेको  परियोजनाका प्रमुख गैरेले जानकारी दिए ।

केहि बर्ष अगाडि सम्म बिउँ नपाएर आलु खेतिका लागि समस्यामा पर्ने गरेका रामेछापका किसानहरु अहिले बिउँ निर्यात गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिसा श्रेष्ठ बताउछिन । उनले रामेछाप जिल्लाबाट सवैभन्दा बढी रोजिता जातको बिउँ निर्यात हुने गरेको जानकारी दिइन।

रामेछाप जिल्लाबाट अहिले भोजपुर, दोलखा, सिन्धुली, धनुषा लगायतका जिल्लाहरुमा आलुको बिउँ निर्यात हुने गरेको गुप्तेश्वरका आलु कृषक हिरालाल श्रेष्ठ बताउछन् । बिउँ उत्पादनका लागि सरकारबाट अझै पर्याप्त सहयोग नपाएको गुनासो गर्ने श्रेष्ठले रामेछाप जिल्लाबाट आलुको बिउँका अतिरिक्त बर्षमा करोडौं रुपैयाँ मूल्य बराबरको आलु समेत निर्यात हुने गरेको बताए ।

आलु खेतिको प्रर्वधनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा सिंचाई, रस्टिक स्टोर निर्माण, यान्त्रीकरण लगायतका सामग्रीहरुको  सहयोग गर्ने गरेको कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्