नुवाकोटमा ‘कोरा साइकल च्यालेञ्ज २०२५’ साउन ३ गते हुने



नुवाकोट, असार २८ । स्वास्थ्यसँगै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कोरा साइकल च्यालेञ्ज–२०२५’ अन्तर्गत साउन ३ गते शनिबार नुवाकोटमा पनि साइकल यात्रा आयोजना गरिने भएको छ।

विदुर नगरपालिकाको कार्यालयबाट सुरू हुने उक्त यात्रा नुवाकोट स्वयम्भू महाचैत्य, भैरवी मन्दिर परिसर, धरमपानी, बाराही मन्दिर, बट्टार पुरानो बजार हुँदै पुनः विदुरमै आएर समापन गरिने आयोजकले जनाएका छन्।

‘हिमालय क्षेत्रको सबैभन्दा ठूलो साइकल उत्सव’ मानिने कोरा साइकल च्यालेञ्ज हरेक वर्ष जुलाईको तेस्रो शनिबार मनाइन्छ। सो अवसरमा देशभरका साइकल राइडरहरू विभिन्न परोपकारी कार्यका लागि एकैदिन साइकल यात्रामा निस्कने गर्दछन्।

यस वर्ष नुवाकोटमा आयोजना हुने च्यालेञ्जबाट संकलित केही रकम सिन्धुपाल्चोकको दुर्गम बस्तीमा बसोबास गर्ने दनुवार समुदायलाई सौर्य बत्ती उपलब्ध गराउन प्रयोग गरिनेछ। हालसम्म पनि विद्युत् सेवा नपुगेका ती बस्तीका बासिन्दाले टुकीको उज्यालोमा दैनिकी चलाइरहेका छन्।

उक्त पुण्यकार्यमा सहभागी भई साइकल यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई http://mykorachallenge.com मा गएर नाम दर्ता गर्न आयोजकले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्