नुवाकोटको तादी खोलामा अपरिचित युवकको शव फेला



नुवाकोट, असार २८ । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ स्थित बाङ्गेटारमा शनिबार अपराह्न  एक युवकको शव फेला परेको छ। स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३० वर्षजतिको देखिएको छ। करिब ५ फिट ६ इन्च उचाइ भएको उक्त व्यक्तिको शरीरमा सामान्य चोटपटक देखिएको खरानी प्रहरी पोस्टका इन्स्पेक्टर जयन्ती थापाले जानकारी दिइन ।

“शव घोप्टो परेको अवस्थामा खोलामा थियो, शरीरमा बाह्य चोटका केही संकेतहरू छन्, तर विस्तृत अनुसन्धानपछि मात्र कारण पुष्टि हुन्छ,” थापाले बताइन । शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल शवलाई परीक्षण तथा पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लाने तयारी गरिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरीले जनाएको छ। यद्यपि मृत्युको कारण अहिलेसम्म पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीले स्थानीय बासिन्दासँग सोधपुछ गर्ने कार्य पनि सुरु गरिसकेको छ। शव फेला परेको स्थान वरिपरि कुनै पहिचान खुल्ने कागजात वा सामान फेला नपरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्