नुवाकोटको शिवपुरीमा माटोमाथि ढलान, कन्स्ट्रक्सनको लापरबाहीपूर्ण काम भयो भाइरल



नुवाकोट,असार २८ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेमा माटोमाथि ढलान गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै निर्माण कार्यमा चरम लापरबाही भएको भन्दै चर्को आलोचना सुरु भएको छ। केपी कन्स्ट्रक्सनले निर्माण गरिरहेको संरचनामा मापदण्ड विपरीत माटोमाथि ढलान गरिएको दृश्य भिडियोमा स्पष्ट देखिन्छ। सडक ढलान गर्नु अघि नाली निर्माण गरी, माटो उप्काएर गिट्टी वा ग्राभेल हाल्नुपर्ने प्राविधिक मापदण्डलाई बेवास्ता गरिएको भन्दै स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा आलोचना गरेका छन्। उनीहरूको भनाइमा बजेट फ्रिज नहोस् भनेर हतारमा यस्तो बेइमानीपूर्ण तरिकाले काम भइरहेको छ, जसले राष्ट्रिय सम्पत्तिको दुरुपयोग भएको देखाउँछ।

सम्बन्धित काम बागमती प्रदेश सरकारअन्तर्गतको योजनाअनुसार भइरहेको हो। शिवपुरी गाउँपालिकाको वडा नम्बर २, ४ र ८ मा सोही कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। अध्यक्ष थपलियाका अनुसार ठेक्काको जिम्मा र अनुगमन प्रदेश सरकार मातहत भएकाले स्थानीय तहसँग कुनै समन्वय नहुँदा यस्ता समस्या दोहोरिरहेको छ। बिल भर्पाईदेखि योजना कार्यान्वयनसम्मको सम्पूर्ण जिम्मा प्रदेश सरकारअन्तर्गत रहेको उनको भनाइ छ।

यसैबीच कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि कृष्ण अधिकारीले भिडियोमा देखिएको जस्तो भयानक त्रुटि नरहेको दाबी गरे । उनले निर्माणकै क्रममा सोही स्थानको भिडियो खिचेर अपलोड गरिएको र काम बाँकी नै रहेको अवस्थामा निर्माणको गलत छवि देखाउने प्रयास भएको जिकिर गरे । तर स्थानीयबासी र सरोकारवालाहरूले भने कार्यको गुणस्तर, पारदर्शिता र दायित्वबोधप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा यदि माटोमाथि ढलान गरेर योजना सम्पन्न देखाउने प्रवृत्ति दोहोरियो भने यो दीर्घकालीन रूपमा जनता र देश दुवैका लागि धोका हुनेछ।

भिडियो

प्रतिक्रिया दिनुहोस्