असारमै ढकमक्क सयपत्री
गुल्मी,असार २९ । गुल्मीमा असारमै सयपत्री फूल ढकमक्क फुलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाटमा कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गरेका हुन् । सामन्यतया दसैँतिहारमा सयपत्री फुल्ने भए पनि नेपालीले असारमै फुलाएर बेमौसमी उत्पादन सम्भव रहेको उदाहरण प्रस्तुत गरेका छन् ।
करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाउनुभएका नेपालीको बगैँचामा अहिले फूल फुलिरहेका छन् । बेमौसमी सयपत्री फूलको माग विवाह, पूजाआजा, विशेष समारोहमा यसको प्रयोग हुने नेपालीले बताए । मौसमी समयभन्दा बाहिर फूल उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा कम हुने र मूल्य राम्रो पाइने भएकाले बेमौसमी सिजनमा फूल उत्पादन गरेको उनको भनाइ छ ।
सयपत्री फूल सफलतापूर्वक बेमौसमी रूपमा फुलाउनका लागि नेपालीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्नुका साथै मलजल व्यवस्थापन, सिँचाइको व्यवस्था, किरा नियन्त्रण र उन्नत बिउ प्रयोग गर्दै फूल बगैँचा व्यवस्थित बनाएको उनले बताए । नेपालीले उत्पादन गरेको फूल स्थानीय बजारसँगै तम्घास पठाउने योजना छ ।
करिब १२० रोपनी खेत लिजमा लिएर विगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नेपालीले चार वर्षदेखि सिजनको समयमा उहाँले फूल खेती गर्दै आएको बताए । आफूले गरेको व्यवसायबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
पछिल्लो समयमा युवा विदेश जाने लहर नै चलिराखेको समयमा उनले युवालाई विदेश नजान र स्वदेशमै श्रम गर्नका लागि आग्रह गरेका छन् ।विदेशमा गएर गर्ने श्रम नेपालमै गरेमा राम्रो आम्दानी गर्न सक्ने उहाँले सुझाव दिए । नेपालीले मौसमी र बेमौसमी गरी १२ जनालाई रोजगारी प्रदान गर्दै आएको बताए ।

