नुवाकोटमा लागुऔषधसहित ६ जना पक्राउ
नुवाकोट,असार २९ । नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित पासाङ ल्हामु सडक खण्ड हुँदै लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ट्रामाडोलसहित विभिन्न लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार असार २७ गते साँझ बा ८६ प ८८९२ नम्बरको स्कुटरमा सवार तीन जनालाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित फेला परेका हुन्।
पक्राउ परेका तीन जनामा २५ वर्षीय विशाल मग्राती (विदुर नगरपालिका–१०), ३६ वर्षीय प्रोमेश श्रेष्ठ (विदुर नगरपालिका–९) र २७ वर्षीय प्रदिप बिसुन्के (विदुर नगरपालिका–९) रहेका छन्। उनीहरूको साथबाट लागूऔषध TRAMAN–50 लेखिएको ९२ पत्ता अर्थात् ९२० क्याप्सुल, NOOPHIN लेखिएको १५ एम्पुल, PROMETHAZINE HYDROCHLORIDE लेखिएको १५ एम्पुल र DIAZEPAM लेखिएको १५ एम्पुल गरी जम्मा ४५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछपछि घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धान गर्दा अन्य तीन जना पनि लागुऔषधसहित फेला परेका थिए। पक्राउ पर्नेमा २८ वर्षीय अनिस राना मगर (विदुर नगरपालिका–२), ३७ वर्षीय राजिव ढुङ्गाना (विदुर नगरपालिका–२) र २२ वर्षीय पुर्ण तामाङ (किस्पाङ गाउँपालिका–२) रहेका छन्।
छजना सबैलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको र उनीहरूलाई मिति असार २९ गते जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य पक्षहरूको खोजी र लागुऔषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

