नेपाल बङ्गलादेशसँग पराजित



काठमाडौ,असार ३० । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बनेको हो । 

बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गरे । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गरेका थिए । 

पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले गोल खाएको थियो । 

चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो । 

सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । 

प्रतिक्रिया दिनुहोस्