नुवाकोटमा तरुण दलको अधिवेशन रोकिनु ‘ढोके चम्चेहरूको हावी’का कारण : सञ्जिव गुरुङ



नुवाकोट,असार ३० — नेपाल तरुण दलका केन्द्रीय सदस्य सञ्जिव गुरुङले नुवाकोटमा तरुण दलको अधिवेशन हुन नसक्नुको प्रमुख कारण संगठनभित्र गहिरिँदो गुटबन्दी, अवसरवादी प्रवृत्ति र वैचारिक शून्यता भएको आरोप लगाएका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत प्रकट गरेको भनाइमा ‘दुई घर–दुई धार ढोके, चम्चे र नोकरहरूको हावी’ भएको भन्दै अधिवेशन प्रक्रिया अवरुद्ध हुनुको दोष सो प्रवृत्तिलाई दिएका छन्। उनले लेखेका छन्, “युवा पुस्ताले राजनीति गर्ने हो भने वैचारिक रूपमा सचेत हुनु आवश्यक छ, किनकि अब विचार बिना राजनीति अघि बढ्दैन।”

उनको यस्तो टिप्पणी नेपाली कांग्रेसभित्र देखिँदै आएको आन्तरिक गुटबन्दी, विशेषतः संस्थापन पक्ष र शेखर कोइरालानिकट केसी समूहमाथि लक्षित देखिएको छ। लामो समयदेखि नुवाकोटमा तरुण दलको अधिवेशन स्थगित रहँदै आएको अवस्थामा गुरुङको यस्तो धारिलो टिप्पणीले पार्टीभित्रको असन्तुलनलाई थप उजागर गरेको छ।

त्यसैगरी फरक प्रसङ्गमा गुरुङले तरुण दलप्रति पार्टी नेतृत्वको बेवास्ता र उपयोगवादी सोचप्रति समेत कटाक्ष गरेका छन्। कांग्रेस जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महतलाई लक्षित गर्दै उनले लेखेका छन्, “महतजीले सामाजिक सञ्जालमा लेखिएको तरुणहरूको प्रश्नको उत्तर देला जस्तो छैन। महतजीहरूलाई तरुण दल संगठन चाहिएकै होइन, उहाँहरूलाई त ढोकामा उभिने नोकर चाहिएको छ।”

गुरुङको यस्तो टिप्पणीले पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीचको संवादहीनता र संगठनप्रतिको दृष्टिकोणमा देखिएको अन्तर स्पष्ट पारेको छ। लगातार स्थगित हुँदै आएको अधिवेशन, निष्क्रिय संगठन र सशक्त युवा नेतृत्वको अभावका कारण पार्टीभित्र तरुणहरू निराश भएको संकेत गुरुङको भनाइबाट झल्किन्छ। यद्यपि यसबारेमा कांग्रेस नेतृत्व वा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया भने आएको छैन।

प्रतिक्रिया दिनुहोस्