रवि लामिछानेको पक्षमा सबैभन्दा धेरै हस्ताक्षर गण्डकी प्रदेशमा
काठमाडौं,असार ३०— पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा गरिएको छ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार गण्डकीमा २ लाख ६० हजारभन्दा बढी हस्ताक्षर संकलन भएका छन्, भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम, करिब २५ हजार हस्ताक्षर मात्र भएको उनले जानकारी दिए।
अहिलेसम्म देशभर करिब २० लाख हाराहारी हस्ताक्षर संकलन भइसकेको र तथ्याङ्क अद्यावधिक भइरहेकाले संख्या अझै बढ्न सक्ने न्यौपानेले बताए। उनका अनुसार प्रदेशगत रूपमा कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हस्ताक्षर संकलन भएको छ।
रास्वपाले यो अभियान कम्तीमा पनि १०० दिनसम्म निरन्तर चलाउने लक्ष्य लिएको जनाएको छ।

