प्रचण्डको प्रश्नको प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक जवाफ: ‘कीर्तिपुरमै पुगेर हेर्नुहोस्’



काठमाडौं,असार ३०— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा उठाएको प्रश्नको जवाफ सार्वजनिक रूपमा दिएका छन्।

संसदमा बोल्दै प्रचण्डले ओली नेतृत्वको दुई तिहाइको सरकारले पहिलो निर्णयको रूपमा कीर्तिपुरमा ३०० दिनभित्र अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको स्मरण गराउँदै “३६५ दिन बितिसक्यो, जोडियो त फ्लडलाइट? बन्यो त प्याराफिट?” भनी प्रश्न उठाएका थिए।

प्रधानमन्त्री ओलीले उक्त प्रश्नको जवाफ सामाजिक सञ्जालमार्फत दिँदै प्रचण्डलाई कीर्तिपुरमै पुगेर काम भइरहेको अवलोकन गर्न आग्रह गरेका छन्। “पूर्व प्रधानमन्त्री दाहालजी, बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। काम भइरहेको छ,” ओलीले भनेका छन्।

ओलीले आफूले दिन तोकेर काम गर्ने शैली अपनाएको उल्लेख गर्दै प्रचण्ड नेतृत्वको सरकारमाथि कुनै ठोस काम नगरेको आरोप पनि लगाएका छन्। “तपाईं प्रधानमन्त्री हुँदा न कुनै टाइमलाइन, न कुनै काम। मैले दिन तोकेर काम गरेँ र आफैंमाथि जवाफदेहिता लिएको छु,” उनले उल्लेख गरेका छन्।

त्यस्तै, प्रचण्ड नेतृत्वले छाडेको अर्थतन्त्र जर्जर अवस्थामा रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले तथ्यांक हेर्न सुझावसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्