बबई नदीमा डुबेका दुई किशोरको शव फेला



दाङ,असार ३१ — बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतकहरूमा तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसी रहेका छन्।

सोमबार दिउँसो बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरू नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले खोजी अभियानकै क्रममा दुवैको शव फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार उनीहरू तुलसीपुरस्थित एक कलेजमा अध्ययनरत थिए र छ जना साथीहरू मिलेर घुम्न गएका थिए। मृतक दुवैको शव पोस्टमार्टमका लागि तुलसीपुर ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्