देशभरका ७७ वटै जिल्ला पूर्णखोप घोषणा
काठमाडौँ,असार ३१— नेपालभरका ७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा भएका छन्। मंगलबार काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली सहित ६ जिल्ला एकैपटक पूर्णखोप घोषणा भएसँगै यो उपलब्धि हासिल भएको हो।
सरकारले करिब दुई दशकअघि शुरू गरेको पूर्णखोप सुनिश्चितता कार्यक्रमले पहिलोपटक सबै जिल्लालाई समेटेको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीय जनप्रतिनिधि र समुदायको सहकार्यले सम्भव भएको हो।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले पूर्णखोप घोषणा बालबालिकाको स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार १५ महिनाभित्र जन्मेका बालबालिकालाई ९ प्रकारका खोप ७ पटकमा १८ मात्रा दिइन्छ, जसले १३ प्रकारका रोगबाट सुरक्षा दिन्छ।
यस अभियानमा गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, वाटर एडलगायत साझेदार संस्थाको पनि सहयोग रहेको छ। मधेश प्रदेशले पूर्णखोप घोषणा गरिसकेको छ भने अन्य प्रदेशहरूले पनि तयारी थालेका छन्।

